Link to home pageLanguagesLink to all Bible versions on this site
26
1 योशियाहका छोरा यहोयाकीमको शासनकालको सुरुमा परमप्रभुको यो वचन मकहाँ आयो, 2 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्‍द पनि नछोड । 3 सयद तिनीहरूले सुन्‍नेछन्, अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन्, यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्‍नो मन म बद्लनेछु । 4 त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने, 5 मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ, 6 तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।” 7 यर्मियाले परमप्रभुको मन्दिरमा यी वचन घोषणा गरेका पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले सुने । 8 त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले तिनलाई समाते र भने, “तँ निश्‍चय नै मर्नेछस् । 9 यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस् ?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए । 10 तब यहूदाका अधिकारीहरूले यो खबर सुने, र तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्दिरमा गए । तिनीहरू परमप्रभुको मन्दिरको नयाँ मूल ढोकामा बसे । 11 पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिससँग बोले । तिनीहरूले भने, “यो मानिसलाई मार्नु ठिक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका छ, जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ ।” 12 त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ । 13 त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ । 14 मेरो आफ्‍नै बारेमा, मलाई हेर्नुहोस्, म आफै तपाईंहरूकै हातमा छु । तपाईंहरूको दृष्‍टिमा जे ठिक र उचित लाग्छ, मलाई त्यही गर्नुहोस् । 15 तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।” 16 तब अधिकारीहरू र सबै मानिसले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।” 17 तब देशका धर्म-गुरुहरूका माझबाट मानिसहरू खडा भए, र सारा मानिसहरूको सभालाई भने, 18 तिनीहरूले भने “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए । तिनले यहूदाका सबै मानिससँग बोले र भने, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः सियोन जोतिएको खेतझैं हुनेछ, यरूशलेमचाहिं गिटीको थुप्रो हुनेछ र मन्दिरको डाँडाचाहिं झाडीझैं हुनेछ ।' 19 के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त ? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र ? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र ?” 20 त्यसै बेला त्यहाँ परमप्रभुको नाउँमा अगमवाणी बोल्ने अर्का मानिस, किर्यत-यारीमा बस्‍ने शमायाहका छोरा उरियाह पनि थिए । यर्मियाका वचनहरूसित सहमत हुने गरी तिनले पनि यस सहर र यस देशको विरुद्धमा अगमवाणी बोले । 21 तर जब राजा यहोयाकीम, तिनका सबै सिपाही र अधिकारीहरूले तिनको वचन सुने, तब राजाले तिनलाई मार्न खोजे, तर उरियाहले यो कुरा सुने र तिनी डराए । त्यसैले तिनी भागे र मिश्रमा गए । 22 तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए । 23 तिनीहरूले उरियाहलाई मिश्रबाट ल्‍याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए । तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए । 24 तर शापानका छोरा अहीकामको हात यर्मियासित थियो । त्यसैले तिनलाई मारिनलाई मानिसहरूका हातमा दिइएन ।

<- यर्मिया 25यर्मिया 27 ->
  • यर्मिया