Link to home pageLanguagesLink to all Bible versions on this site

यर्मियाको पुस्तक

1 बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् । 2 यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो । 3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो । 4 परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो, 5 “मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ । 6 मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।” 7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “ यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ । 8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।” 9 तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु । 10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।” 11 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस् ?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।” 12 परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।” 13 परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस् ?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।” 14 परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ । 15 किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् । 16 अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु । 17 आफूलाई तयार पार! खडा हो, र मैले तँलाई जे आज्ञा गर्छु, त्यो तिनीहरूलाई भन् । तिनीहरूको सामु नडरा, अन्‍यथा तिनीहरूका सामु म तँलाई नै डरमा पार्नेछु । 18 हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु । 19 तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”

यर्मिया 2 ->