Link to home pageLanguagesLink to all Bible versions on this site
65
1 “जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’ 2 हठी मानिसहरूलाई दिनभरि मैले आफ्‍ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् । 3 तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए । 4 तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्‍ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् । 5 तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्‍ने आगो धूँवा हुन् । 6 हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु, 7 तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्‍नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्‍ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।” 8 परमप्रभु यसो यसो भन्‍नुहुन्छ, “दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन । 9 याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन् । 10 मलाई खोज्‍ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्‍नेछन् । 11 तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ । 12 तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ र मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ ।” 13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ । 14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ । 15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्‍ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु । 16 पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्‍वरद्वारा आशिषित्‌ हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्‍वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्‍टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्‍टिबाट लुकाइनेछन् । 17 किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन । 18 तर मैले सृष्‍टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्‍टि गर्न लागेको छु । 19 यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्‍टको सोर कदापि सुनिनेछैन । 20 त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्‍तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्‍ति श्रापित ठानिनेछ । 21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् । 22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् । 23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् । 24 तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु । 25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

<- यशैया 64यशैया 66 ->
  • यशैया