10
1 जब मैले करूबहरूका शिरदेखि मास्तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्दा माथि सिंहासनजस्तो स्वरूपमा नीरजस्तो केही कुरा देखा पर्यो । 2 तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्नुभयो र यसो भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका पाङ्ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्ग्रो लिएर आफ्ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।” तब मैले हेर्दाहेर्दै ती मानिस गए । 3 ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो । 4 परमप्रभुको महिमा करूबहरूबाट मास्तिर उठ्यो र मन्दिरको सँघारमाथि गयो । यसले मन्दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो । 5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्मै सुनिन्थ्यो, जुन सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै थियो । 6 यस्तो भयो, परमेश्वरले त्यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, “ती करूबहरूका माझमा भएका पाङ्ग्राहरूका बिचबाट आगो ले,” तब ती मानिस भित्र गए र एउटा पाङ्ग्राको छेउमा खडा भए । 7 करूबहरूका बिचमा भएको त्यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्नो हात छिराए, र त्यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्यो राखिदिए । ती मानिसले त्यो लिए र फर्केर बाहिर गए । 8 ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्तै केही कुरा देखें । 9 अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्ग्रा थिए— प्रत्येक करूबको छेउमा एउटा पाङ्ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्ता देखिन्थे । 10 ती चारै पाङ्ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे । 11 ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्यसैतिर नफर्की जान्थे । 12 तिनीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्ग्राहरूसमेत सम्पूर्ण आँखाले भरिएका थिए । 13 मैले सुन्दा, ती पाङ्ग्राहरूलाई “घुम्ने पाङ्ग्रा” भनियो । 14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्तै थियो । 15 तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात् जीवित प्राणीहरू उठे । 16 जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्ग्राहरू पनि तिनीहरूसितै जान्थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्नलाई आफ्ना पखेटा फैलाउँथे, तब ती पाङ्ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे । 17 जब ती करूबहरू ठिङ्ग खडा हुन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग खडा नै रहन्थे, र जब ती माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्राहरूमा थिए । 18 तब परमप्रभुको महिमा मन्दिरको सँघारबाट निस्केर गयो र ती करूबहरूका माथि अडियो । 19 ती करूबहरूले आ-आफ्ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्ग्राहरूले पनि तिनीहरूका पछिपछि त्यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्वरको महिमा माथिबाट तिनीहरूमा आयो । 20 कबार नहरको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन् भनी मैले थाहा पाएँ । 21 ती प्रत्येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्तै देखिन्थे, 22 र तिनीहरूका अनुहारहरूका स्वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्तै थिए, र तीमध्ये हरेक सिधै अगाडि हिंड्दथे ।
<- इजकिएल 9इजकिएल 11 ->
इजकिएल