Link to home pageLanguagesLink to all Bible versions on this site

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे । 2 तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु । 3 नदी भ्यागुताहरूले भरिनेछ । तिनीहरू तेरो घर, सुत्‍ने कोठा र तेरो ओछ्यानमा आउनेछन् । तिनीहरू तेरा मानिसहरू, तेरा चुलाहरू र पिठो मुछ्ने आह्रीहरूमा आउनेछन् । 4 भ्यागुताहरूले तँलाई, तेरा मानिसहरू र तेरा सबै अधिकारीलाई आक्रमण गर्नेछन्' ।” 5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्' ।” 6 हारूनले मिश्रका पानीमा आफ्नो हात पसारे र भ्यागुताहरू आएर मिश्र देशलाई ढाके । 7 तर जादुगरहरूले पनि त्यसै गरे । तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए । 8 तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ । तब म उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु ।” 9 मोशाले फारोलाई भने, “तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूका लागि मैले कहिले बिन्ती गर्ने भनी तपाईंले मलाई आज्ञा दिन सक्‍नुहुन्छ ताकि तपाईं र तपाईंका घरहरूबाट भ्यागुताहरूलाई हटाई ती नदीमा मात्र हुन सकून् ।” 10 फारोले भने, “भोलि ।” मोशाले भने, “तपाईंले भन्‍नुभएझैँ होस् अनि परमप्रभु हाम्रा परमेश्‍वरजस्तै कोही रहेनछ भनी तपाईंले थाहा पाउनुभएको होस् । 11 भ्यागुताहरू तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन् । ती नदीमा मात्र बस्‍नेछन् ।” 12 मोशा र हारून फारोकहाँबाट गए । तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे । 13 मोशाले बिन्ती गरेजस्तै परमप्रभुले गर्नुभयो अर्थात् भ्यागुताहरू घरहरू, चोकहरू र खेतहरूमा मरे । 14 मानिसहरूले तिनलाई जम्मा गरी थुप्रो लगाए र ती गन्हाउन लागे । 15 तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् । 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस्' ।” 17 तिनीहरूले त्यसै गरे । हारूनले लट्ठी लिएर आफ्नो हात पसारे । तिनले जमिनको धुलोमा प्रहार गरे । भुसुनाहरू मानिस र पशुहरूमा आए । सारा मिश्र देशभरि जमिनको धुलो भुसुनै-भुसुना भए । 18 जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन् । मानिस र पशुहरूमा भुसुनाहरू थिए । 19 तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्‍वरको हात छ ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्‍नुभएझैँ भयो । 20 परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे । 21 तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँ, तेरा अधिकारीहरू, तेरा मानिसहरू र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु । मिश्रीहरूका घरहरू मात्र नभएर तिनीहरू खडा हुने जमिन पनि झिँगाहरूले भरिनेछन् । 22 तर त्यस दिन म मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन् । यो देशमा म परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ । 23 मेरा मानिसहरू र तेरा मानिसहरूका बिचमा म भिन्‍नता ल्याउनेछु । भोलि मेरो शक्तिको यो चिन्ह हुनेछ' ।” 24 परमप्रभुले त्यसै गर्नुभयो । फारोका घरहरू र तिनका अधिकारीहरूका घरहरूमा हुलका हुल झिँगाहरू आए । मिश्र देशभरि झिँगाहारूले देशलाई सखाप पारे । 25 फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्‍वरलाई बलिदान चढाउन जाओ ।” 26 मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र? 27 परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ ।” 28 फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।” 29 मोशाले भने, “म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु । तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन । 30 मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए । 31 मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो, र उहाँले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो । एउटै पनि बाँकी रहेन । 32 तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।

<- प्रस्थान 7प्रस्थान 9 ->
  • प्रस्थान