3 कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ। 4 तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र प्रेम देखा पर्यो, 5 तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, 6 जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। 7 उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्ने आशा दिनुभयो। 8 यो भनाइ विश्वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।
9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। 10 विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। 11 तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ।