5 शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। 6 किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो। 7 शारीरिक स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुन्छ; त्यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त हुन नै सक्छ। 8 शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
9 यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्। 10 तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ। 11 अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।
12 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ। 13 किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ।
14 किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान[a] हुन्। 15 किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने[b] आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई “अब्बा,[c] पिता” भनी पुकार्दछौँ। 16 परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ। 17 यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।
22 हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ। 23 त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ। 24 यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र? 25 तर यदि हामीले जे प्राप्त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ।
26 यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ। 27 परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
28 हामी जान्दछौँ, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ। 29 किनकि परमेश्वरले जसलाई पहिल्यैबाट जान्नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो[d] ठहरिऊन्। 30 जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।