Link to home pageLanguagesLink to all Bible versions on this site
19
स्वर्गमा विजयका गीतहरू
1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ:
“हल्‍लेलूयाह!
मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्;
2 किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्।
आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने
त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ।
अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”

3 अनि तिनीहरू फेरि चिच्याए:

“हल्‍लेलूयाह!
त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।”

4 ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए:

“आमेन, हल्‍लेलूयाह!”

5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो:

“हे उहाँका सबै सेवकहरू हो,
तिमीहरू जो उहाँसित डराउँछौ,
अर्थात् साना र ठूलाहरू दुवै,
हाम्रा परमेश्‍वरलाई प्रशंसा गर।”

6 तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ:

“हल्‍लेलूयाह!
किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ,
7 हामी आनन्द मनाऔँ, खुशी होऔँ,
र उहाँलाई महिमा दिऔँ!
किनकि थुमाको विवाहको बेला आइपुगेको छ;
अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।
8 तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा
पहिरनलाई दिइएको थियो।”
मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।
 
9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।”

10 अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”

सेतो घोडामा सवार हुनुहुने
11 मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ। 12 उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन। 13 उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्‍वरको वचन हो। 14 सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए। 15 राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।”[a] उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ। 16 उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ:
राजाहरूका राजा र प्रभुहरूका प्रभु।

17 अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ; 18 अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।”

19 तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ। 20 तर त्यो पशु पक्राउ पर्‍यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए। 21 अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए।

<- प्रकाश 18प्रकाश 20 ->