Link to home pageLanguagesLink to all Bible versions on this site
15
सात स्वर्गदूतहरूसँग सात विपत्तिहरू
1 मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ। 2 अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्‍वरले दिनुभएका वीणाहरू लिएका थिए। 3 तिनीहरूले परमेश्‍वरको सेवक मोशाको र थुमाको गीत गाए:
“हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर,
तपाईंका कामहरू महान् र अचम्मका छन्।
राष्ट्रहरूका राजा,
तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्।
4 हे प्रभु, तपाईंको डर कसले मान्दैन?
अनि तपाईंको नामको महिमा कसले गर्दैन र?
किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।
सबै राष्ट्रहरू आएर तपाईंको सामु
दण्डवत् गर्नेछन्;
किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”[a]

5 त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। 6 त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए। 7 तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। 8 अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन।

<- प्रकाश 14प्रकाश 16 ->