Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 92
एउटा भजन; विश्राम दिनको निम्ति एउटा गीत।
1 याहवेहको प्रशंसा गर्नु
र हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
2 बिहान तपाईंको अचुक प्रेमको
र राति तपाईंको विश्‍वासयोग्यताको घोषणा गर्नु,
3 दशतारे वीणाको सङ्गीतमा
र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
 
4 किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ;
तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
5 हे याहवेह, तपाईंका कार्यहरू कत्ति महान् छन्!
तपाईंका विचारहरू कत्ति गहन छन्!
6 विवेकहीन मानिसले यो जान्दैन,
मूर्खले यो बुझ्न सक्दैन,
7 यद्यपि दुष्‍टहरू घाँसजस्तै मौलाउँछन्,
र सबै कुकर्मीहरूका फलिफाप पनि हुन्छ,
तर परिणाम स्वरूप तिनीहरू सधैँका निम्ति नष्‍ट पारिनेछन्।
 
8 तर तपाईं, हे याहवेह, सदासर्वदा उच्‍च हुनुहुन्छ।
 
9 किनकि, हे याहवेह, तपाईंका शत्रुहरू,
तपाईंका शत्रुहरू निश्‍चय नै नष्‍ट हुनेछन्;
सबै कुकर्मीहरू तितरबितर हुनेछन्।
10 तपाईंले जङ्गली साँढेको सिङजस्तै मेरो सिङ[a] उच्‍च पार्नुभएको छ;
उत्तम तेलले मेरो अभिषेक भएको छ।
11 मेरा आँखाले मेरा विरोधीहरूको हार भएको देखेका छन्;
मेरा कानले मेरा दुष्‍ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।
 
12 धर्मीहरूचाहिँ खजूरको बोटझैँ फस्टाउनेछन्;
तिनीहरू लेबनानका देवदारुजस्तै बढ्नेछन्;
13 तिनीहरू याहवेहका भवनमा रोपिएका हुनेछन्,
हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउनेछन्।
14 बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्;
तिनीहरू ताजा र हरिया भइरहनेछन्,
15 र यस्तो घोषणा गर्नेछन्, “याहवेह धर्मी हुनुहुन्छ;
उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्‍टता छैन।”

<- भजनसंग्रह 91भजनसंग्रह 93 ->