Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 77
सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, आसापको भजन।
1 मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ,
मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ।
2 जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ;
रातमा नथाकी उहाँमा मैले हात पसारेँ,
तर मेरो हृदयले सान्त्वना पाएन।
 
3 हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ;
मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो।
सेला
4 तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन;
म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।
5 मैले बितेका दिनहरूको सम्झना गरेँ,
धेरै अगाडिका वर्षहरू;
6 रातका मेरा गीतहरू सम्झेँ।
मैले हृदयमा मनन गरेँ, र मेरो आत्माले यो विचार गर्‍यो:
 
7 “के प्रभुले सदाको निम्ति मलाई त्याग्नुहुनेछ?
के उहाँले मलाई फेरि कहिल्यै दया देखाउनुहुनेछैन?
8 के उहाँको अचुक प्रेम सदाको लागि मेटिएको छ?
के उहाँका प्रतिज्ञाहरू सदाको लागि असफल भएका हुन्?
9 के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो?
के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?”
सेला
 
10 तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ
सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।”
11 म याहवेहका हातका कामहरू स्मरण गर्नेछु;
हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।
12 म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु
र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।
 
13 हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्;
हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र?
14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ;
तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।
15 तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई,
याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो।
सेला
 
16 हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो,
सागरले तपाईंलाई देख्यो र डरायो;
गहिरो महासागर डराएर काम्यो।
17 बादलहरूले झरी बर्साए,
आकाशमा चट्याङ गुन्ज्यो;
तपाईंको बिजुली काँडहरू चारैतिर चम्के।
18 तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो;
तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो;
पृथ्वी काम्यो र भुइँचालो गयो।
19 तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो;
तपाईंको बाटो महासागरको बीचमा थियो,
यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्।
 
20 तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै
मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।

<- भजनसंग्रह 76भजनसंग्रह 78 ->