Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 63
यहूदाको मरुभूमिमा हुँदा दावीदको भजन।
1 हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ;
म दिलोज्यानले तपाईंलाई खोज्दछु;
पानी नभएको सुक्खा र बाँझो जमिनमा,
मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
 
2 पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,
र तपाईंको शक्ति र महिमालाई देखेको छु।
3 तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
4 मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।
5 मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ;
स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।
 
6 मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;
रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।
7 किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;
म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।
8 मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;
तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।
 
9 मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्;
तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।
10 तिनीहरू तरवारद्वारा मारिनेछन्;
र स्यालहरूको आहारा हुनेछन्।
 
11 तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्;
परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्;
जबकि झूटो बोल्ने मुख थुनिनेछ।

<- भजनसंग्रह 62भजनसंग्रह 64 ->