Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 62
सङ्गीत निर्देशकको निम्ति, यदूतूनका लागि, दावीदको भजन।
1 परमेश्‍वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;
उहाँबाट नै मेरो मुक्ति आउँछ।
2 साँच्‍चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म कहिल्यै हार्नेछैनँ।
 
3 तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ?
ढल्न लागेको पर्खाल र भत्कन लागेको बारजस्तै मानिसलाई—
तिमीहरू सबै जना मिलेर मलाई ढाल्छौ?
4 साँच्‍चै मलाई मेरो उच्‍च स्थानबाट खसाल्नलाई
तिनीहरूले योजना बनाएका छन्;
तिनीहरू असत्यतामा रमाउँछन्,
तिनीहरूको मुखलेचाहिँ आशिष् दिन्छन्,
तर तिनीहरूको हृदयले सराप्छन्।
सेला
 
5 हे मेरो प्राण, परमेश्‍वरमा नै विश्राम गर्;
मेरो आशा उहाँबाटै आउँछ।
6 साँच्‍चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।
7 मेरो मुक्ति र मेरो सम्मान परमेश्‍वरमा आधारित छ[a];
उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
8 हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;
आफ्ना हृदय उहाँको सामु पोख;
किनकि परमेश्‍वर हाम्रा शरणस्थान हुनुहुन्छ।
 
9 साँच्‍चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्;
उच्‍च स्तरका मानिसहरू भ्रम मात्र हुन्।
यदि तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको केही ओजन छैन;
तिनीहरू दुवै एक मुट्ठी सास मात्र छन्।
10 लुटपाट गर्ने काममा भरोसा नगर,
अथवा चोरीका सामानहरूमा घमण्ड नगर;
तिम्रो धनसम्पत्ति वृद्धि भए तापनि
त्यसमा तिम्रो हृदय नलगाओ!
 
11 एउटा कुरा परमेश्‍वरले भन्‍नुभएको छ,
दुई पटक मैले सुनेको छु:
“हे परमेश्‍वर, शक्ति तपाईंमा नै निहित छ;
12 हे प्रभु, अचुक प्रेम तपाईंमा छ।”
“अनि निश्‍चय नै तपाईंले प्रत्येक मानिसलाई
तिनीहरूका हरेक कामअनुसारको प्रतिफल दिनुहुन्छ।”

<- भजनसंग्रह 61भजनसंग्रह 63 ->