Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 61
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको भजन।
1 हे परमेश्‍वर, मेरो पुकार सुन्‍नुहोस्;
मेरो प्रार्थना सुनिदिनुहोस्।
 
2 जब मेरो हृदय धेरै व्याकुल हुन्छ,
तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु;
मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
3 किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ,
तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।
 
4 तपाईंको पालमा सदासर्वदा रहिरहन,
र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्‍ने मेरो चाहना छ।
सेला
5 किनकि हे परमेश्‍वर, तपाईंले मेरा भाकलहरू सुन्‍नुभएको छ;
तपाईंको नामको भय मान्‍नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
 
6 राजाको आयु बढाइदिनुहोस्;
पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।
7 उनी परमेश्‍वरको उपस्थितिमा सदासर्वदा राज गरून्;
तपाईंको अचुक प्रेम र विश्‍वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
 
8 तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु
र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।

<- भजनसंग्रह 60भजनसंग्रह 62 ->