Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 52
सङ्गीत निर्देशकको निम्ति, दावीदको मस्किल[a]—जब एदोमी दोएग शाऊल राजाकहाँ गएर दावीदको बारेमा भनेका थिए: “दावीद अहीमेलेकको घरमा गएका छन्।”
1 हे वीर मानिस, तँ किन आफ्ना दुष्‍ट काममा गर्व गर्छस्?
किन सारा दिन घमण्ड गर्छस्,
तँ, जो परमेश्‍वरको दृष्‍टिमा घृणित छस्?
2 तँ छली कुरा गर्छस्,
तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ;
यो धारिलो छुरीजस्तै छ।
3 तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्;
सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।
4 ए छली जिब्रो!
तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।
 
5 निश्‍चय नै परमेश्‍वरले तँलाई अनन्तको विनाशमा फाल्नुहुनेछ:
उहाँले तँलाई तानेर तेरो वासस्थानबाट निकाल्नुहुनेछ;
उहाँले तँलाई जीवितहरूका देशबाट जरैसमेत उखेल्नुहुनेछ।
6 धर्मी जनहरू त्यो देखेर भय मान्‍नेछन्।
तिनीहरूले यसो भनी तेरो हाँसो उडाउनेछन्,
7 “यो त्यही मानिस हो,
जसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन,
तर त्यसले आफ्नो धेरै धनसम्पत्तिमा भरोसा राख्यो,
र अरूलाई विनाश गर्दै आफूचाहिँ बलियो भयो!”
 
8 तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको
हरियो जैतुनको रूखजस्तो छु;
म परमेश्‍वरको अचुक प्रेममा
सदासर्वदा भरोसा गर्दछु।
9 तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा
सधैँ म तपाईंको प्रशंसा गर्नेछु,
र तपाईंको नाममा म आशा राख्नेछु;
किनकि तपाईंको नाम असल छ।

<- भजनसंग्रह 51भजनसंग्रह 53 ->