Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 50
आसापको भजन।
1 याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ,
र पृथ्वीका मानिसहरूलाई
सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ।
2 सुन्दरतामा सियोनबाट सिद्ध,
परमेश्‍वर प्रकाशमान् हुनुभएको छ।
3 हाम्रा परमेश्‍वर आउनुहुन्छ,
र शान्त बस्‍नुहुनेछैन;
उहाँको अगि भस्म पार्ने आगो छ,
र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ।
4 आफ्ना मानिसहरूका न्याय गर्न
परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ:
5 “मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ,
जसले बलिद्वारा मसँग करार बाँधेका छन्।”
6 स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ;
किनकि उहाँ नै न्यायको परमेश्‍वर हुनुहुन्छ।
सेला
 
7 “हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु;
हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु:
म परमेश्‍वर, तेरा परमेश्‍वर हुँ।
8 म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ,
वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्।
9 मलाई तेरो गोठबाट साँढेको,
वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन;
10 किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्,
र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्।
11 म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु;
भूमिका सबै प्राणीहरू मेरै हुन्।
12 यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ;
किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्।
13 के म साँढेहरूको मासु खान्छु?
अथवा बोकाहरूको रगत पिउँछु र?
 
14 “परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा,
र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्।
15 सङ्कष्‍टको दिनमा मलाई पुकार्;
म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”

16 तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ:

“तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ?
अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ?
17 मेरो शिक्षालाई तैँले घृणा गर्छस्,
र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्।
18 जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्;
व्यभिचारीहरूसँग सहभागी हुन्छस्।
19 तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्,
र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्।
20 तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्;
तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्।
21 तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ;
तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्;
तर अब म तँलाई हप्काउनेछु,
र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।
 
22 “हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर;
नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु,
र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन:
23 धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्,
जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।”

<- भजनसंग्रह 49भजनसंग्रह 51 ->