Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 46
सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन।
1 परमेश्‍वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्‍टमा सधैँ हाजिर हुने सहायक।
2 यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,
चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
3 चाहे समुद्र गर्जोस् र फीँज काढोस्,
र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्।
सेला
 
4 एउटा नदी छ, जसको प्रवाहले परमेश्‍वरको नगर,
सर्वोच्‍च परमेश्‍वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।
5 परमेश्‍वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;
परमेश्‍वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
6 राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्।
परमेश्‍वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।
 
7 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;
याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ।
सेला
 
8 आओ र याहवेहले गर्नुभएका कामहरू हेर,
उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
9 पृथ्वीको छेउसम्मै
उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ;
उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ;
उहाँले रथहरूलाई[a] आगोमा जलाउनुहुन्छ।
10 उहाँले भन्‍नुहुन्छ, “शान्त रहो, र म नै परमेश्‍वर हुँ भनी जान;
म राष्ट्रहरूको बीचमा उच्‍च पारिनेछु,
म पृथ्वीमा उचालिनेछु।”
 
11 सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;
याकोबका परमेश्‍वर हाम्रो किल्‍ला हुनुहुन्छ।
सेला