Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 4
सङ्गीत निर्देशकको निम्ति तारवाद्यको साथ, दावीदको भजन।
1 हे मेरा धार्मिक परमेश्‍वर,
मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्।
मेरो सङ्कष्‍टबाट मलाई मुक्त गर्नुहोस्;
ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस्।
 
2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ?
तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको[a] पछि लागिरहन्छौ?
सेला
3 याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ;
मैले पुकार गर्दा याहवेहले सुन्‍नुहुन्छ।
 
4 रिसमा पर्दा पाप नगर।
जब तिमी ओछ्यानमा पल्टन्छौँ,
आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो।
सेला
5 धार्मिकताका बलिदानहरू चढाओ,
र याहवेहमाथि भरोसा राख।
 
6 धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?”
हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!
7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी
आनन्दले मेरो हृदय भरिदिनुभएको छ।
 
8 म शान्तिसँग पल्टिनेछु र निदाउनेछु;
किनकि हे याहवेह, तपाईंले मात्र
मलाई सुरक्षित राख्नुहुन्छ।

<- भजनसंग्रह 3भजनसंग्रह 5 ->