Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 29
दावीदको भजन।
1 हे स्वर्गदूतहरू हो,[a] याहवेहको गुणगान गर।
याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ;
याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।
 
3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;
महिमाका परमेश्‍वर गर्जनुहुन्छ;
याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
4 याहवेहको आवाज शक्तिशाली छ;
याहवेहको आवाज प्रतापी छ।
5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;
याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
6 उहाँले लेबनानलाई एउटा बाछाझैँ,
र सिरिओनलाई[b] जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
7 याहवेहको आवाजले
बिजुलीका चमकझैँ प्रहार गर्छ।
8 याहवेहको आवाजले मरुभूमिलाई हल्‍लाउँदछ;
याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ,[c]
र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ।
उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
 
10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ;
याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ;
याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।

<- भजनसंग्रह 28भजनसंग्रह 30 ->