Link to home pageLanguagesLink to all Bible versions on this site
[a]
भजन 145
दावीदको प्रशंसाको भजन।
1 हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु;
म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
2 हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,
र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।
 
3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;
उहाँको महानता अपार छ।
4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;
तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।
5 तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्—
र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।
6 मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्—
र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।
7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्,
र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।
 
8 याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ;
रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।
 
9 याहवेह सबैमाथि भलो हुनुहुन्छ;
र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।
10 हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्;
तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।
11 तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;
र तपाईंको शक्तिको बखान गर्नेछन्,
12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,
र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।
13 तपाईंको राज्य अनन्तको राज्य हो,
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
 
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।[b]
14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;
दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।
15 सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्;
अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।
16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,
र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।
 
17 याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
18 याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,
उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
19 उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;
उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।
20 उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ;
तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ।
 
21 मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ;
हरेक प्राणीले सदासर्वदा
उहाँको पवित्र नामको प्रशंसा गरून्!

<- भजनसंग्रह 144भजनसंग्रह 146 ->