Link to home pageLanguagesLink to all Bible versions on this site
भजन 141
दावीदको भजन।
1 हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्;
जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्!
2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्;
र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!
 
3 हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्;
मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्!
4 मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्;
ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ;
साथै ती कुकर्मीहरूसित मिलेर
मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्!
 
5 धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ;
तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ।
मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन;
किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।
 
6 तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्,
र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए।
7 तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ,
त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।”
 
8 हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्;
म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!
9 कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट,
तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!
10 म सकुशल उम्कँदा,
दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।

<- भजनसंग्रह 140भजनसंग्रह 142 ->