5 तब याहवेहको आज्ञामा मोशाले इस्राएलीहरूलाई यो आदेश दिए: “योसेफका सन्ततिका कुलहरूले भनेका कुरा ठिकै हो। 6 याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्। 7 इस्राएलमा कुनै पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा जान पाउँदैन। किनकि प्रत्येक इस्राएलीहरूले तिनीहरूका पुर्खाहरूबाट पाएका पैतृक सम्पत्तिको भाग राख्नुपर्छ। 8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको भाग पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्। यसरी हरेक इस्राएलीले आफ्नै पैतृक सम्पत्तिको भाग पाओस्। 9 कुनै पनि पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा नजाओस्। तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक सम्पत्तिमा रहोस्।”
10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे। 11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले आफ्नै बुबाका दाजुभाइहरूका छोराहरूसँग विवाह गरे। 12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्ततिहरूका वंशभित्रै विवाह गरे। अनि तिनीहरूका पैतृक सम्पत्तिको भाग तिनीहरूका बुबाकै वंश र कुलमा रह्यो।