5 “पवित्रस्थान र वेदीको रेख-देखको जिम्मेवारी तिमीहरूको हो; ताकि मेरो क्रोध इस्राएलीहरूमाथि फेरि नपरोस्। 6 म आफैँले तेरा नातेदार लेवीहरूलाई इस्राएलीहरूका बीचबाट तेरो उपहारको रूपमा छानेको छु। भेट हुने पालको काम गरून् भनेर याहवेहलाई अर्पण गरेको छु। 7 तर वेदी र पर्दाभित्रका सबै कुराको सम्बन्धमा तँ र तेरा छोराहरूले मात्र पुजारीको रूपमा सेवा गर्नुपर्छ। मैले तँलाई पुजारी पदको सेवा उपहारको रूपमा दिएको छु। तर लेवीहरूबाहेक कोही पवित्रस्थानको नजिक आएमा ऊ मारिनेछ।”
11 “तीबाहेक यो पनि तेरै हो: इस्राएलीहरूले विशेष भेटीहरूको रूपमा उचालिनका लागि अलग गरिएका सबै थोक। म यसलाई तिमीहरूका नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यो खान सक्नेछ।
12 “मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्न तँलाई दिएको छु। 13 तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ।
14 “इस्राएलमा याहवेहलाई समर्पित[a] गरिएको हरेक चीज तेरै हो। 15 मानिसको होस् वा पशुको, हरेक गर्भको पहिलो फल, जो याहवेहलाई चढाइन्छ, त्यो तेरै हो। तर तैँले प्रत्येक पहिले जन्मेको छोरा र अशुद्ध पशुहरूका पहिले जन्मेको प्रत्येक सन्तानलाई मूल्य चुकाएर छुटाउनुपर्छ। 16 जब तिनीहरू एक महिनाका हुन्छन्, तब तैँले तिनीहरूलाई पवित्रस्थानको शेकेलअनुसार तोकिएको पाँच चाँदीका शेकेल[b] छुटकाराको मोल तिरेर छुटाउनुपर्छ। जसको तौल बीस गेरा हुन्छ।
17 “तर तैँले गाई, भेडा अथवा बाख्राका पहिले जन्मेकाहरूलाई मोल तिरेर छुट्ट्याउनुहुँदैन। तिनीहरू पवित्र हुन्। तिनीहरूको रगत वेदीमाथि छर्कनू। तिनीहरूको बोसोचाहिँ आगोद्वारा चढाइने बलिको रूपमा याहवेहलाई मनपर्दो मिठो बास्नाको भेटी हुने गरी जलाउनू। 18 विशेष भेटीको रूपमा उचालिएको ह्याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ। 19 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरूबाट अलग गरिएका भागहरू म तिमीहरूको नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। यो याहवेहको सामु तँ र तेरा सन्तानहरू दुवैका निम्ति अनन्तको नुनको करार[c] हो।”
20 याहवेहले हारूनलाई भन्नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ।
21 “लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु। 22 अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्। 23 लेवीहरूले नै भेट हुने पालमा काम गरून्। अनि तिनीहरूको विरुद्धमा भएका अपराधहरूको जिम्मा तिनीहरूले नै लिऊन्। आउने पुस्ताका निम्ति यो अनन्तको विधि ठहरियोस्। इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। 24 यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ”
25 याहवेहले मोशालाई भन्नुभयो, 26 “लेवीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्ना पैतृक सम्पत्तिको रूपमा पाएका दशांशबाट तिमीहरूले दशांशको दशांश याहवेहको भेटीको रूपमा चढाउनू। 27 तिमीहरूको बलि खलाबाटको अन्न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ। 28 यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ। 29 तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’
30 “लेवीहरूलाई तैँले भन्: ‘जब तिमीहरूले उत्तम भाग चढाउँछौ, तब तिमीहरूको भेटीलाई खलाको अर्थात् दाखको कोलको फसलको रूपमा गनिनेछ। 31 तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो। 32 त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ”
<- गन्ती 17गन्ती 19 ->