8 “तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ, 9 अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’
10 “ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु। 11 किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्चित गरिन्छ। 12 यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”
13 “ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्यो भने त्यसले रगत निथारेर माटोले पुरोस्। 14 किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।”
15 “ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ। 16 तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’ ”
<- लेवी 16लेवी 18 ->