6 “त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू। 7 तिमीहरूका बीचमा बसोबास गर्ने यी जातिहरूसँग सम्बन्ध नराख्नू। तिनीहरूका देवी-देवताहरूका नाम नपुकार्नू, अथवा तिनीहरूका नामहरूमा शपथ नखानू। तिमीहरूले तिनीहरूको सेवा नगर्नू, अथवा तिनीहरूका सामु ननिहुरनू। 8 तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्वरमा विश्वासयोग्य भइरहनू।
9 “याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन। 10 तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ। 11 यसकारण याहवेह तिमीहरूका परमेश्वरलाई होसियारीसाथ प्रेम गर्नू।
12 “तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्यौ भने, 13 यो निश्चय जानिराख—याहवेह तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्नेछन्।
14 “अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन। 15 तर याहवेह तिमीहरूका परमेश्वरको हरेक असल प्रतिज्ञा साँचो ठहरिएझैँ, यदि तिमीहरूले उहाँको आज्ञापालन गरेनौ भने उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उहाँले तिमीहरूलाई होशियार गराउनुभएका सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ। 16 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करार भङ्ग गर्यौ र अरू देवी-देवताको सेवा गर्दै तिनीहरूका सामु निहुर्यौ भने याहवेहको क्रोध तिमीहरूमाथि पर्नेछ। अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरू चाँडै नै नाश हुनेछौ।”
<- यहोशू 22यहोशू 24 ->