Link to home pageLanguagesLink to all Bible versions on this site
3
इयोबको संवाद
1 त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले। 2 तिनले भने:
3 “म जन्मेको त्यस दिनलाई धिक्‍कार होस्!
र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यस रात पनि मेटिओस्!
4 त्यो दिन—अन्धकारमा परिणत होस्;
उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्;
न त त्यस दिनमाथि कुनै ज्योति चम्कियोस्।
5 त्यस दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;
त्यस दिनमाथि बादल छाओस्;
र घोर अन्धकारले भयभीत पारोस्।
6 त्यो रात—निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;
त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;
न त त्यो दिन कुनै महिनामा आओस्।
7 त्यो रात बाँझो होस्;
त्यस रातमा कुनै आनन्दको सोर नसुनियोस्।
8 दिनलाई सराप्नेहरूले, लिव्यातनलाई[a] उठाउनेहरूले समेत
त्यस दिनलाई धिक्‍कारून्।
9 त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;
त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।
र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;
10 किनभने त्यस रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,
न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।
 
11 “किन म जन्मँदै मरिनँ,
अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?
12 किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,
र मलाई दूधपान गराउने स्तनहरू थिए?
13 नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;
म सुतेको अवस्थामा विश्राम पाउँथेँ।
14 पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग,
जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;
15 सुन भएका भारदारहरूसँग,
जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।
16 अर्थात् नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,
अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?
17 दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्;
र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।
18 त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;
न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।
19 साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;
अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।
 
20 “किन कष्‍टमा भएकाहरूलाई ज्योति,
र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?
21 जसले मृत्यु चाहन्छन्, तिनीहरूले पाउँदैनन्;
अनि जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,
22 जो आनन्दले भरिएका छन्;
अनि तिनीहरू चिहानमा पुग्दा खूबै रमाउँछन्।
23 मानिसलाई जीवन किन दिइन्छ?
जसको मार्ग लुकिएको छ,
जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।
24 किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;
मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।
25 म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;
अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।
26 न मलाई शान्ति छ, न त सुख नै छ;
मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”

<- इयोब 2इयोब 4 ->