1 फेरि अर्को दिन स्वर्गदूतहरूले[a] आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो। 2 याहवेहले शैतानलाई भन्नुभयो, “तँ कहाँबाट आएको होस्?”
3 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्वरको डर मान्ने र दुष्टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।”
4 अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ। 5 तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”
6 याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”
7 तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्यो। 8 त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे।
9 यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्ठामा अडिरहनुहुन्छ? बरु परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्!”
10 तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै[b] कुरा गरिरहेकी छौ। के हामीले परमेश्वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?”