तिनीहरूको छलमा तिनीहरूले मलाई आफ्ना परमेश्वरको रूपमा स्वीकार गर्न मान्दैनन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
7 यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
“हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु;
किनकि मेरा मानिसहरूका पापको निम्ति
म अरू के गर्न सक्छु र?
8 तिनीहरूका जिब्रा घातक काँड हुन्;
ती जिब्राले छलको कुरा बोल्दछन्।
तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्,
तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।”
9 याहवेह घोषणा गर्नुहुन्छ,
“के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?
के यस्तो राष्ट्रसँग,
म बदला नलिऊँ?”
10 म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु;
अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु।
ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्;
अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन।
आकाशका चराहरू सबै उडेर गइसकेका छन्
र जनावरहरू पनि गइसकेका छन्।
11 “म यरूशलेमलाई भग्नावशेषको थुप्रो
र स्यालको ओडार बनाउनेछु;
अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर
म यहूदालाई उजाड पारिदिनेछु।”
12 व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?
13 याहवेहले भन्नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे। 14 बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।” 15 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु। 16 म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।”
17 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
“अब यी कुराहरू विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ;
तिनीहरूमध्येका सबैभन्दा सिपालु स्त्रीहरूलाई ल्याओ।
18 तिनीहरू चाँडै आऊन्,
र हाम्रा आँखाबाट आँसुका भलहरू
र हाम्रा आँखाको परेलाबाट पानीको धारा नबगेसम्म
हाम्रा निम्ति विलाप गरिदेऊन्।
19 सियोनबाट विलापको सोर सुनिँदैछ:
हामी कसरी नष्ट भएका छौँ!
हामी साह्रै लज्जित छौँ!
हामीले आफ्नो देश छोड्नैपर्छ;
किनकि हाम्रा घरहरू नष्ट भएका छन्।”
20 तर हे स्त्रीहरू, याहवेहको वचन सुन;
उहाँको मुखको वचन सुन्न आफ्ना कानहरू खोल।
आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ;
एक-अर्कालाई विलापको गीत सिकाइदेओ।
21 मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र
हाम्रा किल्लाहरूमा पसेको छ;
यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट
र जवानहरूलाई चोक-चोकबाट नष्ट गरेको छ।
22 तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ:
“ ‘मानिसहरूका लासहरू खुला मैदानमा
मलझैँ छरिएका हुनेछन्;
तिनीहरू कटनी गर्नेले छोडेको अन्नझैँ हुनेछन्।
ती छोडिएको अन्नहरू कसैले बटुल्ने छैन।’ ”
23 याहवेह यसो भन्नुहुन्छ:
“बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्,
बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्,
र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्;
24 तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्:
कि त्यससँग मलाई चिन्ने समझशक्ति छ;
म याहवेह हुँ, जसले पृथ्वीमा दया,
न्याय र धार्मिकताको व्यवहार गर्दछु;
किनकि यिनै कुराहरूमा म प्रसन्न हुन्छु,”
याहवेह घोषणा गर्नुहुन्छ।
25 याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु; 26 अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्ने सबैलाई दण्ड दिनेछु।[a] किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।”