11 जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्ने कुरा सुने; 12 तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे।
13 त्यसपछि कारेहका छोरा योहानान र खुल्ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए; 14 अनि तिनलाई भने, “के अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको ज्यान लिन पठाएका छन् भन्ने कुरा तपाईंलाई थाहा छैन?” तर अहीकामका छोरा, गदल्याहले तिनीहरूको कुरामा विश्वास नै गरेनन्।
15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “मलाई जान दिनुहोस्, र नतन्याहका छोरा इश्माएललाई मार्न दिनुहोस्; अनि कसैले पनि यो कुरा थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको प्राण लिन दिने र तपाईंका वरिपरि भेला भएका यहूदीहरूलाई फेरि छरपस्ट हुन दिने र यहूदामा बाँकी रहेकाहरूलाई नष्ट हुन किन दिने?”
16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।”
<- यर्मिया 39यर्मिया 41 ->- a याजन्याह मूल भाषामा उनको अर्को नाम हो येजान्याह
Languages