4 “ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्; 5 तर तँ शान्तिसित मर्नेछस्। जसरी मानिसहरूले तँभन्दा पहिलेका तेरा पुर्खाहरूका सम्मानका निम्ति अन्तिम संस्कारमा सुगन्धित धूप बालेका थिए, त्यसरी नै तिनीहरूले तेरो सम्मानको निम्ति पनि आगोमा धूप बाल्नेछन् र यसो भनेर विलाप गर्नेछन्, “हाय, हे मालिक!” म आफैँले यो प्रतिज्ञा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने, 7 जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए।
12 तब याहवेहको वचन यर्मियाकहाँ आयो: 13 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ, 14 ‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्। 15 तिमीहरूले भर्खरै पश्चात्ताप गर्यौ र मेरो दृष्टिमा जे उचित छ, त्यही तिमीहरूले गर्यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ। 16 तर अब फेरि तिमीहरू पछि हटेर मेरो नाम अशुद्ध पारेका छौ। तिमीहरूले कमारा-कमारीहरूलाई इच्छा लागेको ठाउँमा जान स्वतन्त्र गरिदिएका थियौ, तर अब फेरि तिमीहरू हरेकले तिनीहरूलाई फर्काएर ल्यायौ। तिमीहरूले तिनीहरूलाई आफ्ना कमारा-कमारी हुनलाई फेरि बाध्य बनायौ।
17 “यसकारण याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्। 18 जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे। 19 यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्, 20 म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।
21 “म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्। 22 याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।”
<- यर्मिया 33यर्मिया 35 ->