8 “ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। 9 यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’ 10 तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्ट हुनेछौ। 11 तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”
12 मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्। 13 किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ? 14 तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्। 15 याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ”
16 तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्। 17 तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्ट हुन दिने? 18 यदि तिनीहरू साँच्चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्। 19 किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्नुहुन्छ, 20 जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्— 21 हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: 22 ‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”
<- यर्मिया 26यर्मिया 28 ->