Link to home pageLanguagesLink to all Bible versions on this site

यर्मियाको भविष्यवाणी

1 बेन्यामीनी प्रान्तको अनातोतमा बस्‍ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्। 2 यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो। 3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्‍यो।

 
यर्मियाको बोलावट
4 याहवेहको वचन मकहाँ आयो,
5 “मैले तँलाई गर्भमा सृष्‍टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको[a] थिएँ;
तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ;
अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।”

6 तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।”

7 तर याहवेहले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्‍नैपर्छ। 8 तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

9 त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्‍नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु। 10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”

11 याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?”

मैले जवाफ दिएँ, “म हाडे-बदामका रूखको एउटा हाँगा देख्दैछु।”

12 याहवेहले मलाई भन्‍नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”

13 याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?”

तब मैले जवाफ दिएँ, “म एउटा उम्‍लिरहेको भाँडो देख्दैछु, जुन उत्तर दिशाबाट हामीतिर ढल्किरहेको छ।”

14 याहवेहले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ। 15 म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ।

“तिनीहरूका राजाहरू आउनेछन्, र यरूशलेमका मूलढोकाहरूको मुखमा
तिनीहरूले आफ्ना सिंहासनहरू स्थापित गर्नेछन्;
तिनीहरू त्यसका चारैतिरका पर्खालहरूको विरुद्धमा
र यहूदाका सबै नगरहरूको विरुद्धमा आउनेछन्।
16 म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु;
किनकि तिनीहरूले मलाई त्यागेर दुष्‍टता
गरेका छन्; अनि आफ्नै हातले बनाएका
अरू देवी-देवताहरूका अगि धूप बालेर पूजा गरेका छन्।

17 “यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु। 18 आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्‍ला भएको सुरक्षित सहर बनाएको छु। 19 तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

यर्मिया 2 ->