Link to home pageLanguagesLink to all Bible versions on this site
5
दबोराको गीत
1 त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
2 “जब इस्राएलका राजकुमारहरू अगि सरे,
जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए—
याहवेहको प्रशंसा गर!
 
3 “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ!
याहवेहका निम्ति म गाउनेछु;
याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति म सङ्गीत बजाउनेछु।
 
 
4 “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो,
जब तपाईं एदोमको देशबाट सवार हुनुभयो,
तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो,
बादलले पानी बर्सायो।
5 सीनै पर्वतका अद्वितीय याहवेहको सामु,
याहवेह इस्राएलका परमेश्‍वरको सामु पहाडहरू पनि डरले काँपे।
 
6 “अनातका छोरा शमगरको समयमा,
याएलका समयमा, मूलमार्गहरू सुनसान थिए;
मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।
7 इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्,
जबसम्म म दबोरा, खडा भइनँ,
तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ।
8 जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो,
तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो,
तर इस्राएलका चालीस हजारसित
न ढाल, न त भाला देखिए।
9 मेरो हृदय इस्राएलका राजकुमारहरूसित,
मानिसहरूबीच भएका इच्छुक स्वयम्‌सेवकहरूसित छ,
याहवेहको प्रशंसा गर!
 
10 “तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ,
जो महँगा गलैँचामाथि बस्छौ,
र तिमीहरू, जो पैदल बाटो लाग्दछौ,
कुरालाई राम्ररी विचार गर, 11 गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्।
त्यहाँ तिनीहरू याहवेहका विजयहरूका वर्णन गर्छन्,
इस्राएलमा गाँउलेहरूका विजयहरू।
 
“त्यसपछि याहवेहका जनहरू
तल सहरका मूलढोकाहरूमा गए।
12 ‘उठ, दबोरा, उठ!
उठ-उठ, मुख खोलेर गीत गाऊ।
हे अबीनोअमका छोरा बाराक, उठ!
धेरैलाई कैदी बनाऊ।’
 
13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए;
याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए।
14 एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए;
बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए।
माकीरबाट सेनापतिहरू ओर्लेर आए।
जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए।
15 इस्साखारका राजकुमारहरू दबोरासित थिए;
हो, इस्साखार बाराकसित थिए;
बाराकको आज्ञामा बेँसीमा पठाइएको।
रूबेनका जिल्‍लाहरूमा
हृदय जाँच्ने काम धेरै भएको थियो।
16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई
तिमीहरू भेडागोठहरूमा किन बसिरह्‍यौ?
रूबेनका जिल्‍लाहरूमा
हृदय जाँच्ने धेरै काम भयो।
17 गिलाद यर्दनपारि नै बसे।
अनि दान, त्यो किन जहाजहरूमा बसिरह्‍यो?
आशेर समुद्रको किनारमा रह्‍यो
र आफ्नै गुफाहरूमा बस्यो।
18 जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे;
त्यसरी नै नप्‍तालीले पनि रणभूमिको मुखैमा होमिदिए।
 
19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे;
कनानका राजाहरूले मगिद्दोको
पानीहरूको छेउमा भएको तानाकमा युद्ध गरे,
तर तिनीहरूले लुटमा चाँदी लगेनन्।
20 आकाशबाट ताराहरूले युद्ध गरे,
तिनीहरूका मार्गबाट तिनीहरूले सीसराको विरुद्धमा युद्ध गरे।
21 कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो।
त्यो प्राचीन नदी, कीशोन नदी।
हे मेरो प्राण, अगि बढ्; बलियो हो!
22 तब घोडाका टापहरू गर्जिउठे—
उनीहरूका शक्तिशाली घोडाहरू चाँडो गरी दगुरे।
23 याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप,
त्यसका बासिन्दाहरूमाथि नराम्रोसँग श्राप!
किनभने तिनीहरू याहवेहको सहायताको लागि आएनन्;
याहवेहलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’
 
 
24 “याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्,
केनी हेबेरकी पत्नी,
पालमा बस्‍ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।
25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्;
कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्।
26 तिनको हातमा पालको किला पर्‍यो;
तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्‍यो।
तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्,
तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्‍ल पारिदिइन्।
27 तिनका खुट्टामा त्यो घोप्ट्यो,
त्यो लोट्यो, र पल्टियो।
तिनकै खुट्टामा त्यो घोप्टेर पल्टिरह्‍यो;
त्यो पल्टेको ठाउँमा त्यो मर्‍यो, र त्यहीँ पल्टिरह्‍यो।
 
28 “सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्;
आँखीझ्यालको पछिल्तिरबाट तिनी चिच्याएर भनिन्,
‘तिनका रथ आउनलाई किन ढिलो भयो?
तिनको रथका खटखट आवाज आउन किन ढिलो भयो?’
29 तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्;
साँच्‍चै उनले आफूसित भन्‍ने गर्छिन्,
30 ‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र?
प्रत्येक मानिसका निम्ति एउटी वा दुईटी स्त्रीहरू,
सीसराका निम्ति लुटेका रङ्गीन कपडाहरू,
बुट्टेदार रङ्गीन कपडाहरू;
मेरो गलाको निम्ति अति बुट्टेदार कपडाहरू—
यो सबै लुटसरह हुँदैनन् र?’
 
 
31 “हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्!
तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ
आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।”
त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो।

<- न्यायकर्ता 4न्यायकर्ता 6 ->