Link to home pageLanguagesLink to all Bible versions on this site
8
याहवेहको हतियार, अश्शूर देश
1 याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको[a] बारेमा लेख्। 2 म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।” 3 तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्। 4 यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”

5 याहवेहले मलाई फेरि भन्‍नुभयो:

6 “यस जातिले शीलोको
शान्तसित बग्ने पानीलाई इन्कार गर्छ;
अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।
7 यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा
यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल,
अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ।
त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ;
यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ;
8 अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ,
र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ।
त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ;
हे इम्मानुएल!”
 
9 हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ!
अनि हे टाढाका देशहरू हो, सुन।
युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!
युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!
10 आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्;
आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन;
किनकि परमेश्‍वर हामीसित हुनुहुन्छ।

11 याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो:

12 “जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ,
त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू;
तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू;
र त्यससित भयभीत नहुनू।
13 तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ;
तिमीहरू डराउनुपर्ने उहाँसितै हो;
तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।
14 उहाँ पवित्रस्थान बन्‍नुहुनेछ;
तर इस्राएलका दुवै घरानाका निम्ति
उहाँ यस्तो ढुङ्गो बन्‍नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ;
अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ,
अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्‍नुहुनेछ।
यरूशलेमका मानिसहरूका निम्ति
उहाँ धराप र पासो हुनुहुनेछ।
15 तिनीहरूमध्ये धेरैले ठेस खानेछन्;
तिनीहरू लडेर चकनाचुर हुनेछन्,
तिनीहरू पासोमा पर्नेछन्।”
 
16 यस साक्षीलाई बाँधेर राख्;
अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।
17 म याहवेहलाई पर्खनेछु,
जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ।
उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।

18 याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।

अन्धकार उज्यालोमा परिणत
19 मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने? 20 परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन। 21 तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्। 22 त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।

<- यशैया 7यशैया 9 ->