18 तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;
उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ।
किनकि याहवेह न्यायको परमेश्वर हुनुहुन्छ।
उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
19 हे यरूशलेममा बस्ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ। 20 प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ। 21 तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्ने सोर सुन्नेछन्। 22 तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्नेछौ।
23 तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्। 24 खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्। 25 त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्। 26 याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।
27 हेर, याहवेहको नाम टाढाबाट
बल्दो रिस र धुवाँको बाक्लो बादलसित आउँछ;
उहाँका ओठहरू क्रोधले पूर्ण छन्;
उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ।
28 उहाँको सास गर्दनसम्म उठ्ने
मुसलधारे पानीजस्तो छ।
उहाँले राष्ट्रहरूलाई नाश गर्ने नाङ्लोले निफन्नुहुन्छ;
र उहाँले मानिसहरूका बङ्गारामा फलामको लगाम लगाइदिनुहुनेछ,
जसले तिनीहरूलाई दिशाहीन बनाइदिनेछ।
29 तिमीहरूले पवित्र चाड
मनाएको रातमा झैँ गीत गाउनेछौ;
मानिसहरू बाँसुरी लिएर याहवेहको पर्वतमा,
इस्राएलका चट्टानकहाँ जाँदा,
तिमीहरूका हृदय
आनन्दित हुनेछ।
30 रिसको झोँक, भस्म गर्ने आगोको ज्वाला,
गड्याङ-गुडुङ, आँधीबेहरी र असिनासहित
याहवेहले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्न
र आफ्नो बाहुबलको शक्ति हेर्न लगाउनुहुनेछ।
31 याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ;
आफ्नो राजदण्डले उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
32 याहवेहले आफ्नो पाखुराले तिनीहरूको विरुद्धमा युद्धमा लड्नुहुँदा,
उहाँले आफ्नो दण्डको लहुरोले
प्रत्येक चोटि तिनीहरूलाई सजायको रूपमा प्रहार गर्नुहुँदा,