दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्,
तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्;
अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्।
12 त्यस दिन प्रभु, सेनाहरूका याहवेहले
तँलाई त्यससित रुन र विलाप गर्न,
आफ्नो केश लुछ्न
र भाङ्ग्रा लगाउन बोलाउनुभयो।
13 तर हेर, आनन्द र रमाहट,
पशुहरू संहार गर्ने र भेडाहरू मार्ने,
मासु खाने र मद्य पिउने काम भइरहेछ!
तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ;
किनकि भोलि त हामी मर्नेछौँ!”
14 सेनाहरूका याहवेहले मैले सुन्ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्नुहुन्छ।
15 प्रभु, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ:
“जा, त्यस भण्डारेलाई,
राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्:
16 तँ यहाँ के गर्दैछस्, र तँलाई
यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो?
यस उचाइमा आफ्नो चिहान खोप्ने,
र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्?
17 “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ;
अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ।
18 उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ;
अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्र्याइदिनुहुनेछ।
त्यहीँ नै तँ मर्नेछस्,
र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्,
र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ!
19 म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु,
र तँ आफ्नो पदबाट निकालिनेछस्।
20 “त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु। 21 म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ। 22 म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन। 23 म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ। 24 आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”
25 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।