Link to home pageLanguagesLink to all Bible versions on this site
16
1 सेलाबाट सियोनका छोरीहरूको पर्वतमा
देशका शासककहाँ
सौगातको रूपमा
थुमाहरू पठाओ।
2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू,
गुँडबाट धपाइएर
यताउता उडिरहने
चराहरूझैँ भएका छन्।
 
3 मोआबले भन्छ, “हामीलाई सल्‍लाह देओ,
एउटा निर्णय लेओ।
मध्यदिनमा तिम्रो छाया
रातझैँ बनाओ!
भगुवाहरूलाई लुकाओ,
शरणार्थीहरूलाई धोका नदेओ!
4 मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्‍न देओ;
नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।”
 
थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ,
र सर्वनाश समाप्‍त हुनेछ;
आक्रमणकारी देशबाट लोप हुनेछ।
5 प्रेममा एउटा सिंहासन स्थापित हुनेछ;
त्यसमा दावीदको घरानाबाट
विश्‍वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ;
उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ;
र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ।
 
6 हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ,
त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान,
त्यसको अभिमान, घमण्ड र त्यसको धाक;
तर त्यसका घमण्डहरू खोक्रा छन्।
7 यसकारण मोआबीहरू विलाप गर्नेछन्;
तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्।
कीर-हरेशेतका किसमिसका निम्ति
विलौना र शोक गर।
8 हेश्बोनका खेतहरू
र सिब्माका दाखहरू पनि ओइलाउँछन्।
जातिहरूका शासकहरूले
अति सुन्दर दाखहरू कुल्चेका छन्,
जो एक समय याजेरसम्म नै पुगेका थिए;
अनि मरुभूमिभरि फैलिएका थिए।
तिनीहरूका टुसाहरू फैलिएर
समुद्रसम्म पुगेका थिए।
9 यसकारण सिब्माका दाखहरूका निम्ति
याजेर रोएझैँ म रुन्छु।
हे हेश्बोन, हे एलाले,
म तँलाई आँसुले भिजाउँछु!
तेरा पाकेको फलहरूका निम्ति
निकालिएका आनन्दका चीत्कारहरू चकमन्‍न पारिएका छन्।
10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्;
दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ;
कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन;
किनकि मैले हर्षको आवाज समाप्‍त गरिदिएको छु।
11 मेरो हृदयले मोआबका निम्ति,
र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।
12 मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा,
ऊ आफूभित्र खिन्‍न मात्र हुन्छ;
आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा,
त्यसलाई केही फाइदा हुँदैन।

13 मोआबको विषयमा पहिल्यै भन्‍नुभएको याहवेहको वचन यही हो। 14 तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”

<- यशैया 15यशैया 17 ->