Link to home pageLanguagesLink to all Bible versions on this site
2
ध्यान दिनका निम्ति चेतावनी
1 यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ। 2 किनकि स्वर्गदूतहरूद्वारा बोलिएका सन्देश पक्‍का थियो; अनि यसलाई उल्‍लङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्‍वरबाट उचित दण्ड पाए भने, 3 हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौँला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्‍नेहरूले हाम्रा निम्ति यसको पुष्‍टि गरिदिए। 4 परमेश्‍वरले पनि अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।
येशू पूर्ण मानिस
5 हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौँ, त्यसलाई स्वर्गदूतहरूको अधीनमा राखिएन। 6 तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्‍ने साक्षी दिएका छन्:
“मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?
7 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम[a] बनाउनुभयो;
तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याउनुभयो;
8 सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।”[b]
मानिसको अधीनमा सबै थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामी देख्दैनौँ। 9 तर हामी येशूलाई देख्छौँ, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्‍वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।

10 परमेश्‍वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो। 11 मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन। 12 उहाँ भन्‍नुहुन्छ;

“मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु;
सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”[c]
13 अनि फेरि,
“उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।”[d]
र उहाँ फेरि भन्‍नुहुन्छ,
“हेर, म र परमेश्‍वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”[e]

14 छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्; 15 अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्। 16 किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ। 17 यसैकारण उहाँलाई हरकिसिमले आफ्ना भाइहरूझैँ हुनुपर्नेथियो; ताकि उहाँ परमेश्‍वरको सेवामा दयालु र विश्‍वासयोग्य प्रधान पुजारी बनून्; यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्। 18 किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्‍ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।

<- हिब्रूहरू 1हिब्रूहरू 3 ->