हाग्गैको भविष्यवाणी
2 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यी मानिसहरू भन्छन्, ‘याहवेहको भवन निर्माण गर्ने समय अझै आएको छैन।’ ”
3 तब याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: 4 “के यो भवन भग्नावशेष अवस्थामा रहेको बेला तिमीहरू आफूचाहिँ बुट्टेदार काठले सजिएको घरमा बस्ने समय हो र?”
5 यसकारण अब सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर। 6 तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।”
7 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर। 8 पर्वतहरूमा उक्लेर जाओ र काठ लिएर आओ; अनि मेरो भवन बनाओ, ताकि म त्यसमा प्रसन्न हुन सकूँ र मेरो महिमा होस्,” याहवेह भन्नुहुन्छ। 9 “तिमीहरूले धेरै आशा गरेका थियौ, तर हेर, त्यो थोरै हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले उडाइदिएँ। मैले किन त्यसो गरेँ?” सेनाहरूका याहवेह भन्नुहुन्छ। “किनकि मेरो भवनचाहिँ नष्ट भएको छ; अनि तिमीहरू हरेकचाहिँ आफ्नो घर बनाउनमा व्यस्त छौ। 10 यसर्थ तिमीहरूको कारणले गर्दा नै आकाशले शीत पार्न र पृथ्वीले आफ्नो अन्न उब्जाउन छोडेको छ। 11 मैले जमिनहरू, पर्वतहरू, अन्न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।”
13 तब याहवेहका समाचारवाहक हाग्गैले याहवेहको यो सन्देश मानिसहरूलाई दिए: “म तिमीहरूका साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। 14 अनि यसरी याहवेहले शालतिएलको छोरा, यहूदाका राज्यपाल, यरुबाबेल र यहोसादाकको छोरा, यहोशू प्रधान पुजारी र बाँकी रहेका समस्त मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सेनाहरूका याहवेह तिनीहरूका परमेश्वरको भवन निर्माण गर्न थाले। 15 यो काम तिनीहरूले दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा सुरु गरे।