1 योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए। 2 तब योसेफले आफ्ना सेवामा खटाइएका वैद्यहरूलाई आफ्ना पिता इस्राएलको शरीरमा सुगन्धित लेप लगाउन आदेश दिए। यसकारण ती वैद्यहरूले 3 चालीस दिन लगाएर सुगन्धित लेप लगाए; किनकि लेप लगाउन त्यति नै समय लाग्थ्यो। अनि इजिप्टियनहरूले उनका निम्ति सत्तरी दिनसम्म शोक मनाए।
4 शोकका दिनहरू बितेपछि योसेफले फारोका भारदारहरूलाई भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने फारोसित मेरा लागि बोलिदिनुहोस्। उहाँलाई भन्नुहोस्, 5 ‘मेरा पिताले मलाई शपथ खान लाउनुभयो, र भन्नुभयो, “मेरो मृत्यु हुन लागेको छ; मलाई कनान देशमा मैले आफूले बनाएको चिहानमा गाड्नू।” अब मलाई आफ्ना पितालाई गाड्न जान दिनुहोस्; त्यसपछि म फर्कनेछु।’ ”
6 फारोले भने, “जाऊ, र तिम्रा पिताले तिमीलाई शपथ खान लगाएझैँ तिनलाई गाड।”
7 यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए। 8 यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए। 9 रथहरू र घोडसवारहरू पनि तिनीसित गए। त्यो एउटा ठूलो समूह थियो।
10 जब तिनीहरू यर्दनको छेउमा भएको आतादको खलोमा पुगे, तब तिनीहरूले धेरै बेरसम्म भारी विलाप गरे; अनि त्यहाँ योसेफले आफ्ना पिताको निम्ति सात दिनसम्म शोक गरे। 11 जब त्यहाँ बस्ने कनानीहरूले आतादको खलोमा गरिएको शोक देखे, तिनीहरूले भने, “इजिप्टियनहरूले ठूलो शोक मनाइरहेका छन्।” त्यसैकारण यर्दनको नजिकको त्यस ठाउँलाई हाबिल-मिश्रइम[a] भनिन्छ।
12 यसरी याकोबका छोराहरूले उनले आज्ञा दिएबमोजिम गरे: 13 तिनीहरूले उनलाई कनानमा पुर्याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए। 14 आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।
18 तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।”
19 तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्वरको स्थानमा छु र? 20 तिमीहरूले मलाई हानि गर्ने विचार गर्यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्वरले भलाइका निम्ति गर्नुभयो। 21 यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।
24 तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्वर निश्चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।” 25 अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्वर निश्चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।”
26 यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।
<- उत्पत्ति 49