2 याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे। 3 जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे, 4 योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए। 5 पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो। 6 यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्।
8 तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ। 9 यस घरमा मभन्दा ठूलो अरू कोही छैन। तपाईं उहाँकी पत्नी हुनुभएकोले, मेरा मालिकले तपाईंबाहेक अरू कुनै कुरा पनि मदेखि अलग राख्नुभएको छैन। त्यसकारण यस्तो दुष्ट काम गरेर कसरी परमेश्वरको विरुद्धमा म पाप गर्न सक्छु र?” 10 अनि तिनले दिनदिनै योसेफलाई त्यसो भने तापनि योसेफले तिनीसित सुत्न त परै जाओस्, तिनको नजिक बस्न समेत अस्वीकार गरे।
11 एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्। 12 तब तिनले योसेफको लुगा समात्दै, “आऊ, मसँग ओछ्यानमा सुत!” भनिन्, तर आफ्नो लुगा तिनको हातैमा छाडेर तिनी घरबाट बाहिर भागे।
13 जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्, 14 तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ। 15 जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
16 तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्। 17 तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो। 18 तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
19 जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए। 20 योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्ने झ्यालखानामा लगेर हालिदिए।