7 त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।”
8 जब इसहाक त्यहाँ बसेको धेरै भएको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे। 9 यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?”
10 तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”
11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्चय नै मृत्युदण्ड पाउनेछ।”
12 इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो। 13 तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो। 14 तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे। 15 यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए।
16 तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”
17 यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे। 18 इसहाकका पिता अब्राहामको समयमा खनिएका इनारहरू तिनले फेरि खने, जुन अब्राहामको मृत्युपछि पलिश्तीहरूले पुरिदिएका थिए; अनि ती इनारहरूलाई तिनका पिताले दिएकै नामहरू दिए।
19 इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए। 20 तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक[b] राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए। 21 तब तिनीहरूले अर्को इनार खने, तर तिनीहरूले त्यसका निम्ति पनि झगडा गरे; यसकारण तिनले त्यसको नाम सित्ना[c] राखे। 22 तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत[d] राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्नति गर्नेछौँ।”
23 त्यहाँबाट तिनी बेर्शेबासम्म गए। 24 त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्नुभयो, “म तेरा पिता अब्राहामको परमेश्वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।”
25 इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।
26 त्यसै बेला गरारबाट अबीमेलेक आफ्ना व्यक्तिगत सल्लाहकार अहुज्जत र आफ्ना सेनाका सेनापति पीकोलसित तिनीकहाँ आए। 27 इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”
28 तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ, 29 ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।”
30 तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए। 31 अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए।
32 त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!” 33 तब तिनले त्यसको नाम शिबा[e] राखे। आजसम्म नै त्यस नगरको नाम बेर्शेबा भनिन्छ।