21 त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ। 22 हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।” 23 यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।
24 त्यसपछि मैले मुख्य पुजारीहरूमध्ये बाह्र जना र तिनीहरूसित शेरेबियाह, हशब्याह र तिनीहरूका दश जना दाजुभाइहरूलाई अलग गरेँ। 25 अनि मैले परमेश्वरको भवनका निम्ति त्यहाँ उपस्थित भएका सारा इस्राएलीहरू, राजा र उनका सल्लाहकारहरू, साथै अधिकारीहरूले भेटीको रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू तिनीहरूलाई तौलेर दिएँ। 26 मैले तिनीहरूलाई 650 टालेन्ट[c] चाँदी, 100 टालेन्ट[d] चाँदीका भाँडाहरू, 100 टालेन्ट सुन, 27 1,000 डारिक[e] बराबरका सुनका 20 वटा कचौराहरू र सुनजस्तै मूल्यवान् दुई वटा चिल्ला तामाका भाँडाहरू पनि तौलेर दिएँ।
28 मैले तिनीहरूलाई भनेँ, “तिमीहरूका साथै यी भाँडाहरू पनि याहवेहका निम्ति समर्पण गरिएका छन्। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वरको निम्ति सुन र चाँदीहरू स्वेच्छा-भेटी हुन्। 29 मुख्य पुजारीहरू र लेवीहरू, र इस्राएलका परिवारका अगुवाहरूका सामु यरूशलेममा याहवेहको भवनको कोठाहरूभित्र ती भाँडाहरू नतौलेसम्म तिमीहरूले होसियारीसाथ यसको रक्षा गर्नू।” 30 त्यसपछि यरूशलेममा परमेश्वरको भवनमा लैजानलाई जोखिएका सुन र चाँदी, पवित्र भाँडाहरू सबै पुजारीहरू र लेवीहरूले ग्रहण गरे।
31 पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जानलाई हामी अहावा नहरको किनारदेखि हिँड्यौँ। हाम्रा परमेश्वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई बाटोमा शत्रुहरू र डाँकुहरूबाट बचाउनुभयो। 32 यसरी हामी यरूशलेममा आइपुग्यौँ र त्यहाँ हामीले तीन दिन विश्राम गर्यौँ।
33 चौथो दिनमा हाम्रा परमेश्वरको भवनमा उरियाहको छोरा मरेमोत पुजारीको हातमा सुन, चाँदी र पवित्र भाँडाहरू जोखेर सुम्पिदियौँ। मरेमोतसित पीनहासका छोरा पुजारी एलाजार, लेवीहरू येशूआका छोरा योजाबाद र बिन्नूईका छोरा नोअदिया पनि थिए। 34 हरेक कुरा गनिएको र जोखेर हिसाब गरिएको थियो; अनि त्यसै बेला सबै थोकको तौलको सूची बनाइयो।
35 त्यसपछि निर्वासनबाट फर्कने सारा निर्बासितहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलिहरू चढाए: बाह्र वटा साँढेहरू, छयानब्बे भेडाहरू, सतहत्तर थुमाहरू होमबलिको निम्ति बलि चढाए। अनि यसबाहेक पापबलिको निम्ति बाह्र वटा बोकाहरू बलि चढाए। यी सबै याहवेहका निम्ति होमबलि थियो। 36 तिनीहरूले राजकीय शासकहरू र यूफ्रेटिस पारिका राज्यपालहरूलाई राजाका आदेशहरू पनि दिए। त्यसपछि तिनीहरूले मानिसहरू र परमेश्वरको भवनलाई सहायता गरे।
<- एज्रा 7एज्रा 9 ->