8 “ ‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्। 9 तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ; 10 अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। 11 म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ। 12 म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ।
13 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि केही मानिसहरूले तिमीहरूलाई भन्छन्, “तिमीहरूले मानिसहरूलाई निल्छौ र आफ्ना जातिका मानिसहरूलाई तिनीहरूका सन्तानदेखि वञ्चित राख्छौ।” 14 यसकारण तिमीहरूले फेरि कहिल्यै पनि मानिसहरूलाई खानेछैनौ, र आफ्नो जातिलाई निःसन्तान बनाउनेछैनौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 15 म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्ला सुन्न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
22 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ। 23 म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
24 “ ‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। 25 तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु। 26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु। 27 अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु। 28 तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु। 29 म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ। 30 म रूखहरूका फलहरू र खेतका अन्नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्। 31 तब तिमीहरूले आफ्ना दुष्ट चालहरू र दुष्ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ। 32 मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्ने कुरा तिमीहरूले जान्न सक भन्ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ!
33 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। 34 बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ। 35 तिनीहरूले भन्नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।” 36 तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’
37 “प्रभु याहवेह यसो भन्नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु; 38 तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
<- इजकिएल 35इजकिएल 37 ->