7 “किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: म टायरको विरुद्धमा उत्तर दिशाबाट राजाहरूका राजा, बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, घोडसवारहरू र ठूलो सेनाको साथ ल्याउनेछु। 8 राजाले मुख्य भूमिमा तेरा बस्तीहरूलाई तरवारले ध्वस्त पार्नेछ; त्यसले तेरो विरुद्धमा घेरा-मचान खडा गर्नेछ, र तँलाई आक्रमण गर्नलाई तेरो विरुद्ध पर्खालमा माटोको ढिस्को खडा गर्नेछ। 9 राजाले तेरा पर्खाल भत्काउनलाई रूखका ठूला-ठूला मुढाहरूले प्रहार गर्न लगाउनेछ, र तिनीहरूका हतियारहरूले तेरा धरहराहरू ढालिदिनेछ। 10 त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनीहरूका धुलोले तँलाई छोपिदिनेछ। पर्खाल भत्किएको सहरभित्र मानिसहरू पसेझैँ त्यो तेरा मूलढोकाहरूमा प्रवेश गर्दा लडाइँका घोडाहरू, गाडाहरू र रथहरूको आवाजले गर्दा तेरा पर्खालहरू हल्लिनेछन्। 11 त्यसका घोडाहरूका खुरहरूले तेरा सबै सडकहरू कुल्चनेछन्; त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खम्बाहरू भुइँमा ढल्नेछन्। 12 तिनीहरूले तेरा धनसम्पत्ति लुट्नेछन् र तेरो व्यापारका मालहरू खोसेर लैजानेछन्; तिनीहरूले तेरा पर्खालहरू भत्काइदिनेछन् र तेरा सुन्दर घरहरू भत्काउनेछन्; अनि तेरा ढुङ्गाहरू, काठहरू र रोडाहरू समुद्रमा फालिदिनेछन्। 13 म तेरो कोलाहलपूर्ण गीतहरूको अन्त्य गरिदिनेछु, र तेरा वीणाहरूको सङ्गीत फेरि कहिल्यै सुनिनेछैन। 14 म तँलाई एउटा नाङ्गो चट्टान तुल्याइदिनेछु, र तँ माछा पक्रने जालहरू फैलाउने एउटा ठाउँ हुनेछस्। तँ कहिल्यै निर्माण हुनेछैनस्; किनकि म याहवेहले नै भनेको हुँ, प्रभु याहवेह भन्नुहुन्छ।
15 “प्रभु याहवेह टायरलाई यसो भन्नुहुन्छ: टायरमा घाइतेहरूले सुस्केरा हाल्दा र काटमार हुँदा के तेरो पतनको आवाजमा समुद्र किनारका देशहरू काम्दैनन् र? 16 तब समुद्र किनारका सबै राजकुमारहरू आ-आफ्ना सिंहासनबाट तल ओर्लनेछन्, र तिनीहरूले आ-आफ्ना लबेदाहरू एकातिर छोड्नेछन् र आफ्ना बुट्टेदार वस्त्रहरू फुकाल्नेछन्। तँलाई देखेर त्रासले तिनीहरू थरथर काम्दै भुइँमा बस्नेछन्। 17 तब तिनीहरूले तेरो बारेमा एउटा विलाप गीत गाउनेछन् र तँलाई भन्नेछन्:
19 “प्रभु याहवेह यसो भन्नुहुन्छ: जब मैले तँलाई एउटा उजाड सहर, कहिल्यै मानिस नबसेको सहरजस्तै बनाएको छु, र जब म गहिरो समुद्र उर्लाएर तँमाथि ल्याउँछु, र त्यसको विशाल पानीले तँलाई छोप्छु, 20 तब म तँलाई तल खाडलमा जानेहरूसित ती पहिले मरेका मानिसहरूकहाँ तल ल्याउनेछु। म तँलाई प्राचीन कालका भग्नावशेषहरूमा जस्तै, तल खाडलमा जानेहरूसँगै पृथ्वीको तल्लो भागमा बस्न लगाउनेछु; अनि तँ त्यहाँबाट फर्कनेछैनस्, जीवितहरूको देशमा तेरो ठाउँ लिनेछैनस्। 21 म तँलाई डरलाग्दो अन्त्यमा ल्याउनेछु र फेरि तेरो अस्तित्व हुनेछैन। तँ खोजिनेछस्, तर फेरि कहिल्यै भेट्टाइनेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
<- इजकिएल 25इजकिएल 27 ->