Link to home pageLanguagesLink to all Bible versions on this site
2
इजकिएलको बोलावट
1 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा,[a] आफ्नो खुट्टामा उभी, म तँसित कुरा गर्नेछु।” 2 जब परमेश्‍वर मसँग बोल्नुभयो, तब उहाँको आत्मा मभित्र आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो; अनि उहाँले मसँग कुरा गर्नुभएको मैले सुनेँ।

3 उहाँले भन्‍नुभयो: “हे मानिसको छोरा, म तँलाई इस्राएलीहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जो मेरो विरुद्धमा विद्रोही भएका छन्। तिनीहरू र तिनीहरूका पुर्खाहरूले आजको दिनसम्म नै मेरो विरुद्धमा विद्रोह गर्दैआएका छन्। 4 म तँलाई ती मानिसहरूकहाँ पठाउँदैछु, जो कठोर र हठी छन्। तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ 5 अनि तिनीहरूले चाहे सुनून् चाहे नसुनून्—किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्—तर पनि तिनीहरूका बीचमा एक जना अगमवक्ता छ भनेर तिनीहरूले थाहा पाउनेछन्। 6 अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो। 7 तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्‍नू; किनकि तिनीहरू विद्रोही छन्। 8 तर हे मानिसको छोरा, म तँलाई के भन्दैछु, त्यो तैँले सुन्। ती विद्रोही मानिसहरूजस्तै तँ विद्रोही नहो; आफ्नो मुख खोल्, र मैले तँलाई दिएको कुरा खा।”

9 तब मैले हेरेँ, र एउटा हात मतिर पसारिएको मैले देखेँ। हातमा एउटा मुट्ठो[b] थियो, 10 जुन मुट्ठो उहाँले मेरो अगाडि खोल्नुभयो। त्यसका दुवैतिर विलाप, शोक र दुःखका कुरा लेखिएका थिए।

<- इजकिएल 1इजकिएल 3 ->