5 तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयो: “याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु। 6 तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ।
7 “यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु। 8 तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 9 म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु। 10 तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ। 11 यो सहर तिमीहरूका निम्ति कराही बन्नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु। 12 अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।”
13 जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?”
16 “यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’
17 “यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु।
18 “तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्। 19 म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। 20 त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु। 21 तर जसका हृदय तिनीहरूका घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरूको पछि लाग्छ, म तिनीहरूले गरेका कामहरूको दण्ड तिनीहरूकै शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
22 तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका मास्तिर थियो। 23 याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो। 24 फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो।