Link to home pageLanguagesLink to all Bible versions on this site

1 हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। 2 “आफ्ना बुबा र आमाको आदर गर।” यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, 3 “ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।”[a]

4 हे बुबाहरू[b] हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

5 हे सेवकहरू हो, ख्रीष्‍टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर। 6 केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्‍टका सेवकहरूझैँ तिमीहरूका हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञापालन गर। 7 तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर। 8 किनकि तिमीहरू जान्दछौ, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको पुरस्कार प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्‍का हुन्।

9 हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।

परमेश्‍वरका हातहतियार
10 अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ। 11 परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। 12 किनकि हाम्रो लडाइँ मानिसहरूका[c] विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताको आत्मिकी सेनाहरूका विरुद्ध हो। 13 यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। 14 यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; 15 अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। 16 यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसबाट तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। 17 शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

18 अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर। 19 मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्‍न मलाई शब्दहरू दिइयोस्, 20 जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।

 
अन्तिम अभिवादन
21 तुखिकस, जो हाम्रो प्यारो भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक हुन्, तिनले तिमीहरूलाई सबै कुरा भन्‍नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्‍नेछौ। 22 मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्।
 
23 दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति मिलोस्!
 
24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्!

<- एफिसी 5