4 तब घोषणा गर्नेले उच्च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ: 5 जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। 6 त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।”
7 यसकारण तिनीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्नसाथ विभिन्न भाषा बोल्नेहरू, जाति-जातिका मानिसहरू घोप्टो परे, र तिनीहरूले राजा नबूकदनेसरले खडा गरेको मूर्तिलाई दण्डवत् गरे।
8 त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए। 9 तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्! 10 हे महाराजा, हजुरले यस्तो उर्दी दिनुभएको छ: नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्ने हरेक व्यक्तिले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ; 11 अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ। 12 तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।”
13 तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए; 14 अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो? 15 अब जुन समय तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्छौ, तब घोप्टो परेर मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै असल हुनेछ। तर यदि तिमीहरूले मूर्तिलाई दण्डवत् गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीभित्र फालिनेछौ। त्यस बेला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?”
16 शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्नु आवश्यक छैन। 17 यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। 18 तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।”
19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। 20 अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए। 21 तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए। 22 राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्यो। 23 अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए।
24 त्यसपछि राजा नबूकदनेसर आश्चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?”
25 राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्वरको पुत्रजस्तै देखिन्छ।”
26 त्यसपछि नबूकदनेसरले दन्किरहेको आगोको भट्टीको मुख नजिक गएर ठूलो सोरले बोलाए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्च परमेश्वरका सेवकहरू हो, बाहिर निस्क! यहाँ बाहिर आओ!”
28 तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए। 29 यसकारण म यो आदेश दिँदछु: शद्रक, मेशक र अबेद्नगोका परमेश्वरको विरुद्धमा कुनै पनि कुरा भन्ने कुनै पनि जाति अथवा भाषाका मानिसहरू जो भए तापनि टुक्रा-टुक्रा गरी काटिनेछन्; अनि तिनीहरूका घरहरू ढुङ्गाका थुप्रोमा परिणत गरिनेछन्; किनकि अरू कुनै देवताले यसरी बचाउन सक्दैन।”
30 त्यसपछि राजाले बेबिलोनको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका पद बढाइदिए।
<- दानिएल 2दानिएल 4 ->- a लगभग 90 फिट लम्बाइ र 9 फिट चौडाइको