Link to home pageLanguagesLink to all Bible versions on this site

दानिएलको पुस्तक

1
बेबिलोनमा दानिएलको तालिम
1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले। 2 अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्‍वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा[a] भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।

3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट[b] र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे— 4 जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्‍त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका[c] भाषा र साहित्य सिकाउनुपर्ने थियो। 5 राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्‍त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो।

6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए। 7 प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।

8 तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे। 9 परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; 10 तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।”

11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, 12 “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। 13 त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।” 14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे।

15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए। 16 यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए।

17 ती चार जवान मानिसहरूलाई परमेश्‍वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।

18 राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे। 19 राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए। 20 राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए।

21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।

दानिएल 2 ->